Rule 14
चुरोटको उत्पादन तथा बिक्री वितरण
चुरोट उत्पादन गर्ने इजाजतपत्रवालाले देहाय बमोजिमको कार्य गर्नु पर्नेछः–
(क) कच्चा र कोरा सूर्तिको हिसाब राख्नु पर्नेः चुरोट बनाउनको निमित्त प्रतिष्ठानमा झिकाइएको सबै प्रकारको स्वदेशी र विदेशी सूर्तिको हिसाब तथा विवरण अनुसूची–५ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ राख्नु पर्ने,
(ख) सूर्ति खपतको हिसाब राख्नेः चुरोट बनाउनलाई प्रयोग गरिएको सूर्तिको हिसाब अनुसूची–६ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रत्येक दिन जँचाइ प्रमाणित गराइ राख्नु पर्ने,
(ग) चुरोटमा सुर्तिको अनुपात खुलाउनेः विभिन्न प्रकारको चुरोट बनाउन प्रयोग गरिने स्वदेशी र विदेशी सुर्तिको अनुपात खुलाइ विभागबाट स्वीकृती लिई राख्नु पर्ने,
(घ) तयारी चुरोट बट्टा बन्दी गर्नेः  बिक्रीयोग्य तयारी चुरोटलाई राम्रोसँग जाचबुझ गरी बट्टामा हाली बन्द गर्ने तथा गोदामबाट बिक्रीको लागि निकालिएको चुरोट अन्तशुल्क अधिकृतको स्वीकृति बेगर कारखानामा पुन ल्याउन नहुने,
(ङ) चुरोटका बट्टाहरू प्याकि· गर्नेः तयारी चुरोटका बट्टाहरूलाई ठूलो कागजमा बन्द गरी दैनिक बन्द गरिएको चुरोटको बट्टा संख्या, सिलसिलेवार नम्बर र बन्द गरिएको मिति समेत स्पष्ट देखिने गरी अनुसूची–७ बमोजिमको ढाचामा उल्लेख गर्ने तथा गोदाममा राखिएको चुरोटको हिसाब अनुसूची–८ बमोजिमको ढाँचामा राख्नु पर्ने,
(च) गोदामबाट चुरोट निकाल्ने तरिकाः चुरोट बिक्री गर्नको निमित्त गोदामबाट बाहिर निकाल्नलाई अनुसूची–९ बमोजिमको ढाँचामा फाराम भरी अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष पेश गर्ने तथा निजहरूबाट जाँची निष्काशन गर्ने इजाजत प्राप्त भएपछि सोको विवरण भरी राख्ने ।